अब कसैले पनि अधिकारका लागि सहिद हुन पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि सहिद हुन नपर्ने बताएका छन्।

सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौंको लौनचाैरस्थित सहिद पार्कमा सहिदहरुको सम्मानमा आयोजित कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले सो विचार राखेका हुन्।

‘हिजो राज्यले जनता र सेनाप्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो। अब त्यस्तो अवस्था छैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले अधिकारका लागि लडिने लडाइँ पुरा गरेका छौं। अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब सहिद हुनुपर्दैन।’

प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको उल्लेख गरे। ‘हामीले अधिकारमा समानता हासिल गरिसकेका छौं’, ओलीले भने, ‘अब अवस्थामा पनि समानता स्थापित गर्ने चरणमा हामी छौं।’ सुशासन र आर्थिक विकासमार्फत देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने बताए। ‘नेपाललाई प्रकृतिले सम्पन्न र धनी देश बनाएको छ’, उनले भने, ‘मानिसले यस देशलाई गरिब बनाउनु हुँदैन। यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ।’

प्रधानमन्त्री ओलीले सबैलाई लोभलालच र भ्रष्टाचार त्याग्न आग्रह गरे। ‘आज सहिद दिवसको दिन, आजै संकल्प गरौं, अब कसैले पनि भ्रष्टाचार नगरौं। देशको सबभन्दा ठूलो समस्या भ्रष्टाचार हो। यसबाट देशलाई मुक्त गरौं’, उनले भने। सरकार देश र जनताप्रति निष्ठावान भएकोले आग्रह पूर्वाग्रह विना काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरुको सपना पूरा गर्ने काममा एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरे। उनले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई अघि बढ्न नदिने प्रयास पनि सुरु हुन थालेको भन्दै त्यसलाईं निस्तेज पारेर अघि बढनुपर्ने आवश्यकता औंल्याए।

मेयर शाक्यले मुलुकलाई समृद्ध बनाएर मात्रै सहिदहरुको सपनालाई पूरा गर्न सकिने पनि स्मरण गराए।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले देश र जनताको मुक्तिका लागि जीवनको आहूति दिएका ४ सहिदहरु शुक्रराज शाष्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा पुष्पगुच्छासहित माल्यार्पण गरेका थिए।

यसअघि काठमाडौं महानगरपालिकाको आयाेजनामा विशाल र्‍याली पनि निकालिएको थियो। काठमाडौंको जमलबाट निकालिएको र्‍याली लौनचौरस्थित सहिद पार्कमा पुगेर समापन गरिएको थियो।

र्‍यालीमा गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार