पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

काठमाडौं ४ असार । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आइतबार राती १२ बजेदेखि मूल्य घटाएको हो ।

‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा घटेको छ। सोहीअनुसार पेट्रोलमा ३ र डिजेल/मटितेलमा २/२ रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची आइतबार राति १२ बजेदेखि लागू हुनेछ।’

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३/९३ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। हाल हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १ सय रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १.०७५ अमेरिकी डलर छ।

एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ तोकेको छ। मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख रुपैयाँ हुने प्रवत्ता गोइतले बताए। यसअघि निगमको घाटा १८ करोड ६२ लाख रहेको जनाएको थियो।

स्वचालित मूल्य २०७१ असोजबाट लागू भएको हो। आयल निगम अत्याधिक घाटामा गएपछि सरकारले स्वाचालित मूल्य लागू गरेको थियो। स्वाचालित मूल्य अनुसार भारतीय आयल निगम (आइओसी)ले १ र १५ तारिखमा नयाँ मुल्य पठाउँछ। सोही अनुसार मूल्य समायोजन गर्दे आएको निगमको दाबी छ। कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार