सेयर बजारमा हरियाली

लोकतन्त्र दिवसका दिन शेयर बजार झण्डै २० अंकले बढेको छ । बजारको आकर्षणका रुपमा वाणिज्य बैंकहरु रहेका छन । बजारमा देखिएको यस्तो वृद्धिले लगानीकर्ताले धेरै कमाउने आकंक्षा राखेको बुझ्न सकिन्छ ।

बुधबार शेयर बजार परिसुचक नेप्से १९.१४ अंकले बढेर १२७९.२९ अंकमा उक्लिएको छ । १७२ कम्पनीका ३४ लाख ८ हजार कित्ता शेयरहरु ९५ करोड ३ लाख रुपैंयामा कारोबार भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रुपैंयाको सुधार आएको हो ।

परिसुचकसँगै कारोबार रकममा पनि भारी बढोत्तरी देखिँदा लगानीकर्ताको मनोबल बलियो भएको बुझ्न सकिन्छ । बजार खुलेदेखि नै एकनासले उकालो लागेको थियो । यसले लगानीकर्ताहरु बजारमा जोखिम नरहेको निष्कर्षमा पुगेको देखाउँछ ।

बुधबार वाणिज्य बैंक समुहमा मात्र २५ अंक बढीको सुधार आएको छ । १० उपसमुह मध्ये ८ उपसमुहमा फराकिलो अन्तरको सुधार आएको छ । जलविद्युत र उत्पादन समुहमा भने सामान्य गिरावट आएको छ । बिग मर्जरको चर्चा बढ्न थालेसँगै लगानीकर्ताहरु वाणिज्य बैंकको शेयरमा बढी आकर्षित भएको व्याख्या पनि गर्न थालिएको छ । वाणिज्य बैंकहरुको शेयर मूल्यमा आएको तिब्र सुधारले नै समग्र बजारलाई उचालिरहेको छ ।

बुधबार कारोाबार रकमका आधारमा १० शिर्ष कम्पनीमा वाणिज्य बैंकहरुको दवदबा देखिएको छ । अधिक शेयर मूल्य बढ्नेको सूचीमा पनि एकाध वाणिज्य बैंकहरु परेका छन्। एभरेष्ट इन्स्योरेन्स, सामुदायिकलघुवित्त, सहयोगी विकास बैंक लगायतका कम्पनीको शेयर मूल्यमा तिब्र बढोत्तरी आएको छ ।

बुधबार केही जलविद्युत कम्पनी तथा लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा तिब्र गिरावट आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार