भक्त विद्याश्रमका भूपू शिक्षक र विद्यार्थीको पुनर्मिलन कार्यक्रम सम्पन्न

 

का.म.पा. वडा नं. १८ को टेंगल, रक्तकालीमा रहेको श्री भक्त विद्याश्रम मा.वि. का भूपू शिक्षक र विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम शनिवार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
विशालबजारको सासा ब्याङ्क्वेटमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयको भूपू प्रधानाध्यापक जगदीशचन्द्र अर्यालले विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिमा हातेमालो गर्न आह्वान गर्दै आफूले पढाएका विद्यार्थीहरुसँग दशकौंपछि भेट्न पाउँदा निकै खुशी लागेको बताउनु भयो ।


उक्त कार्यक्रममा विद्यालयका वर्तमान प्रधानाध्यापक सुदर्शन कट्टेलले पुनर्मिलन कार्यक्रमको औचित्यका सम्बन्धमा स्पष्ट पार्दै विद्यालयमा हाल वि.व्य.स. का अध्यक्ष अशोकमान श्रेष्ठ, सदस्यहरु राजेन्द्र महर्जन, रवि महर्जन, जापानका सहयोगी र्योइची कियोनो र गोविन्द महर्जन, अमेरिकी सहयोगी बेलिन्दा र ग्रेग स्वंक लगायत स्थानीय बुद्घिजीवि र समाजसेवीको सहयोगले न्यूनतम् भौतिक सुविधा उपलब्ध रहेको स्पष्ट गर्नुभयो । सोही क्रममा उहाँले विद्यालय र भूपू विद्यार्थीहरुको सहकार्यले विद्यालयको अझ उन्नति गर्न मद्दत पुग्ने उल्लेख गर्दै विभिन्न पेसा तथा व्यवसायमा संलग्न रहेका भूपू विद्यार्थीहरुले भक्त विद्याश्रममा अध्ययन गरेका विद्यार्थीहरु ग्राहक बनी आएको खण्डमा सहुलियत दरमा वस्तु तथा सेवा उपलब्ध गराउँदा व्यापार पनि बढ्ने र ग्राहक पनि अनावश्यकरुपले नठगिने, जन्मोत्सव, विवाह, तथा अन्य माङ्लिक कार्यमा गरिने खर्चबाट थोरै प्रतिशत मात्रै बचत गरी आफूले पढेको विद्यालयका ससाना नानीहरुका लागि आवश्यक स्टेशनरी मात्रै दिने गरेमा बढी अर्थपूर्ण हुने र अवोध नानीहरुको खुशीले सहयोगदाताहरुमा आत्मसन्तुष्टि हुने विचार व्यक्त गर्नुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै का.म.पा. वडा नं. १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले आफू पनि उक्त विद्यालयको पूर्व विद्यार्थी भएको हुँदा विद्यालयको हरेक आवश्यकता पूरा गर्न आफू सदैब तयार रहेको र असहाय विद्यार्थीलाई यस शैक्षिक वर्षमा प्रारंभिक सहयोग उपलब्ध गरिसकेको बताउनु भयो । साथै, उहाँले विद्यालयमा कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा भूपू विद्यार्थीहरुले विद्यालयको समग्र हितमा काम गर्ने सिलसिलामा आफू पनि साथमा रहेको कुरा बताउनु भयो ।
कार्यक्रम आयोजक समितिका संयोजक तथा शिक्षक विद्यार्थी संघका अध्यक्ष विजु श्रेष्ठले विद्यालयमा क्रमशः पूर्वाधारको व्यवस्था हुँदै गएको र त्यसमा आफूले पनि थोरै पहल र सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताउनु हुँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्न पहल गर्ने बताउनु भयो ।


उक्त कार्यक्रममा विशालबजार लायन्स क्लब लगायत विभिन्न व्यक्ति तथा संस्थाहरुले विद्यालयलाई आर्थिक सहयोग समेत उपलब्ध गराएका थिए । साथै, कतिपयले उपयुक्त समयमा आवश्यकता अनुसार विद्यालयलाई सहयोग गर्ने बचन समेत दिएका थिए ।
सो कार्यक्रममा विद्यालयका साना नानीहरुले नृत्य प्रस्तुत गरेका थिए भने उपासना कट्टेलले सुमधुर स्वरमा अरुणा लामाको एउटा गीत गाएकी थिइन् । प्रख्यात गितारवादक अनिल शाहीले आफ्नो कला प्रस्तुत गर्दा दर्शकहरुले नाचेर रमाइलो गरेका थिए ।
विद्यालयकी शिक्षक अमृता भट्टराईले उद्घोषण गरेको उक्त कार्यक्रममा २०४७ सालको एसएलसी ब्याचकी विद्यार्थी रबिता श्रेष्ठले आयोजक समितिको तर्फबाट स्वागत मन्तव्य दिनुभएको थियो भने २०५३ सालको ब्याचका विद्यार्थी विजय रञ्जितकारले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार