दिपायल एयरपोर्टलाई आवश्यक बजेट विनियोजन गर्न सांसद आलेको माग

 

काठमाडौं । सांसद प्रेमबहादुर आलेले दिपायलमा एयरपोर्ट आवश्यक भएको बताएका छन् ।
विहीबार संसदमा विनियोजन बजेटमाथि आफ्नो धारणा राख्दै उनले दिपायलमा एयरपोर्ट बनाउन अत्यावश्यक भएको उल्लेख गर्दै विगतमा कृपाशुर शेर्पा संस्कृति तथा पर्यटन मन्त्री हुँदा दियायल एयरपोर्टको लागि ८ करोड रकम विनियोजन भएर टेण्डर लागे पनि ठेकेदारले काम नगर्दा बजेट फ्रिज भएकोले अबका दिनमा ठेक्का लिएर काम नगर्नेहरुमाथि कारबाही गर्नुपर्ने बताए ।

डोटीमा १०० शैयाको अस्पताल बनाउन स्वीकृति लिन आफूले स्वास्थ्य मन्त्री तथा सचिवलाई प्रस्ताव पेश गरे पनि यस बजेटमा त्यो विषय प्राथमिकतामा नपरेको बताए ।
उनले क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको नाममा रहेको ८७ रोपनी जग्गा डोटी क्याम्पसमा बिएस्सी कक्षा सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै यसमा विशेष ध्यान दिन आग्रह गरे ।

नेपाली सेना शान्ति स्थापनार्थ विभिन्न देशमा जाँदा केहीले धेरैपल्ट अवसर पाएको र कसैले जागिर अवधिसम्म पनि अवसर नपाएकोबारे बोल्दै यसतर्फ सचेत रहन रक्षामन्त्रीलाई आग्रह गरे । नेपाली सेनाले काठमाडौं तराई फास्ट ट्रयाकमा गरिरहेको कामको उच्च मूल्यांकन गर्दै राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गनुपर्ने बताए ।
डोटीका विभिन्न धार्मिक सम्पदाहरुमा यसपालि बजेट विनियोजन गरेकामा उनले पर्यटनमन्त्रीलाई धन्यवाद दिँदै जिपलाइन र भ्यू टावरको लागि कम बजेट परेको गुनासो गरे । विष्णु पौडेल अर्थमन्त्री भएको समयमा आफूले १ अर्ब २० करोडको बजेट जिल्लामा पार्न सफल भए पनि सार्वजनिक खरिद ऐनकै कारण ठेकेदारहरुले ठेक्का लिएर पनि काम नगर्दा बजेट फ्रिज भएको बताए ।

उनले हिन्दी सिनेमा सोले को प्रसंग उल्लेख गर्दै आफू सदैव जनतालाई शीरमा राखेर काम गर्ने वाचा गरे । डोटीमा जम्मा १ प्रतिशत मात्रै जनजातिको बसोबास भए पनि त्यहाँका जनताले आफूलाई विश्वास गरेर दुई दुई पल्ट निर्वाचित गरेर पठाएकोमा धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार