जनआकाश साप्ताहिकले मनायो बाह्रौं वार्षिकोत्सव

काठमाडौं । नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले केपी ओली नेतृत्वको सरकारले जनताको लागि सिन्कोसमेत भाँच्न नसकेको आरोप लागाएका छन् ।

शुक्रबार प्रज्ञा भवनमा जनआकाश राष्ट्रिय साप्ताहिकको बाह्रौं वार्षिकोत्सव तथा पुस्तक विमोचन समारोहमा बोल्दै मैनालीले दुई तिहाईको दम्भ देखाउनेबाहेक जनताले प्रत्यक्ष महसुस हुने खालका काम गर्ने नगरेको बताए । उनले सरकार नचाहिने कामतर्फ अग्रसर भएको आरोप लगाए । ‘यो सरकार आफुलाई कम्युनिष्ट भन्छ तर कामचाँहि केही गर्दैन, यस्तो हावादारी कुरा गरेर जनतालाई भ्रममा पार्ने काम तुरुन्त बन्द गरोस्’ उनले भने । ‘निर्वाचनको समयमा भारतको चर्को विरोध गर्ने ओली आज किन लम्पसार पर्दैछन् यसबाट पनि उनको असली रुप प्रस्ट हुन्छ ’ । उनले आक्रोश ब्यक्त गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले नेपाली पत्रकारिता जगत बिस्तारै स्वच्छन्दतातिर उन्मुख हुँदै गएको बताए । विश्वका अरु देशमा भन्दा नेपालमा प्रेस स्वतन्त्रता धेरै भएको उल्लेख गर्दै पत्रकारहरु पनि सच्चिनुपर्ने अवस्था रहेको बताए । नेपालमा ठुला घटना घटाउन भित्रभित्रै षडयन्त्र हुन थालेको आभास देखिएको उल्लेख गर्दै पत्रकारहरुले सचेत भएर कलम चलाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभापति शान्तराम बिडारीेले वर्तमान सरकार स्वरोजगारमुखी र साना लगानीका मिडियालाई अंकुश लगाउन उद्धत रहेको उल्लेख गर्दै सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध महासंघले सशक्त आन्दोलन गर्ने बताए । नेपालका ठुला मिडियाहरु ब्यापार र नाफामुखी रहेकोले वास्ताविक समाचार लेखनमा साना लगानीका मिडियाको महत्वपूर्ण योगदान रहेको बताए । जनआकाश पत्रिकाका सम्पादक मोहन कार्कीको सक्रियता र लगनशीलता सबैका लागि अनुकरणयोग्य रहेको सभापति बिडारीेले बताए ।

कार्यक्रमका सभापति तथा जनआकाश साप्ताहिकका सम्पादक मोहन कार्कीले बाह्र वर्षसम्म आइपुग्दा आफुले भोगेका आरोह अबरोहबारे उल्लेख गर्दै मान्छेमा दृढ इच्छाशक्ति भए जस्तोसुकै कठिन काम पनि गर्न सकिने बताए । उनले आफु साहित्यमा रुचि राख्ने भएकाले आफ्नो पहिलो साहित्यिक कृति माइली उपन्यास बजारमा ल्याएको बताए । कार्यक्रममा पुर्व मन्त्री तथा समाजसेवी भद्राकुमारी घलेले देश विकासमा लागि महिलाहरु अघि सर्न जरुरी रहेको उल्लेख गर्दै अहिलेका नेताहरुले नेपालमा विकास गर्नेभन्दा धन कमाउन मात्रै राजनीति गरेको आरोप लगाइन् ।

वार्षिकोत्सबमा समाजमा विशेष योगदान दिएका ब्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुने व्यक्तिहरुमा वरिष्ठ पत्रकार हरि लम्साल, वरिष्ठ साहित्यकार तेजप्रकाश बानियाँ, फणीन्द्र नेपाल, चर्चित गायक आनन्द कार्की, नेपालका युवा बैज्ञानिक राम÷ लक्ष्मण, पत्रकार प्रेमप्रसाद नेपाल, बर्णमाला हाइकुका लेखक दुर्गा अधिकारी भमरकोटे, गोसाइकुण्ड यात्रानुभवका लेखक कृष्ण बहादुर केसी, वेदना संग्रहकी राधिका पुरी, निर्माण व्यवसायी रत्नप्रसाद गौतम, औद्योगिक क्षेत्रतर्फ किरण म्यानुफ्याक्चर्स सुज प्रा. लि., लेखा परिक्षक दिपेन्द्र कुमार कार्की, युवा पत्राकार गणेश खड्का, सितोरियो करातेका खेलाडी÷प्रशिक्षक दिनेश महत, कारोबार दैनिकका बजार ब्यबस्थापक सत्यनारायण शर्मा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार