बाल श्रमिक गाउँ फर्काउँदै वडाध्यक्ष

काठमाडौं २ असार । काठमाडौंलगायत मुलुकका विभिन्न सहरमा घरेलु श्रमिक भएर काम गरिरहेका बाजुराको गौमुल गाउँपालिकाका बालबालिका घर फर्किन थालेका छन् । गौमुलका स्थानीय जनप्रतिनिधिले त्यस्ता बालबालिकालाई फर्काउन सुरु गरेका हुन् ।

अहिलेसम्म १९ बालबालिका घर फर्किएको गौमुल गाउँपालिका–४ मानाकोटका वडाध्यक्ष वीरेन्द्र रोकायाले जानकारी दिए । रोकायाले बाँकी बालबालिकालाई पनि फिर्ता ल्याउने प्रयास भइरहेको बताए । ‘गाउँपालिकाले निरन्तर ताकेता गरेपछि अभिभावकले पनि ध्यान दिलए,’ रोकायाले भने, ‘हामी बालबालिका गाउँ ल्याउँदै छौं ।’

बाजुराका बालबालिका घरेलु श्रमिकका लागि सहरमा पठाउन थालिए पछि गौमुलका जनप्रतिनिधिले गाउँगाउँ गएर त्यस्ता बालबालिकाको विवरण संकलन गरेका थिए । गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार गौमुलका दुईवटा वडाका ४३ बालबालिका अझै पनि राजधानीलगायत विभिन्न स्थानमा घरेलु कामदार छन् । गाउँपालिकाका अनुसार वडा–४ बाट २३ र ५ बाट २० जना घरेलु श्रमिक छन् ।

घर फर्किएपछि ती १९ बालबालिका अहिले विद्यालय भर्ना भएर पढ्न थालेका छन् । कञ्चनपुरको महेन्द्रनगरका नवीनचन्द ठकुरीको घरमा घरेलु श्रमिक भएर काम गरेका गौमुल–४ मानाकोटका १४ वर्षीय एक बालक वैशाख पहिलो साता घर फर्किए । उनी अहिले गौमुलको कृतिचौर माविमा कक्षा–८ मा पढिरहेका छन् । उनलाई कृतिचौर माविकै प्रधानाध्यापक रमानन्द जोशीले घरेलु श्रमिकका लागि महेन्द्रनगर पठाएका थिए । ठकुरीको घरमा काम गर्ने क्रममा उनका दुवै हात भाँचिएका थिए । उनको दुवै हातमा अहिले स्टिल राखिएको छ । उनका बाबु अफिलाल धामीले भने, ‘पहिले पढ्न पाउला भनेर पठाएँ, अहिले यस्तो भएर आयो ।’

गौमुल गाउँपालिका–५ का अर्का १२ वर्षीय बालकलाई कलक रोकायाले पढाइदिने आश्वासन देखाएर पोखरा पठाएका थिए । पोखरा पुगेपछि उद्योगी बबितासिंह शाहको लेकसाइडस्थित घरमा उनले एक वर्ष काम गरे । अहिले गाउँ फर्किएर उनी कृतिचौर माविमा कक्षा–२ मा पढिरहेका छन् । राजधानीमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार