कांग्रेस जिल्ला सभापतिको भेला : संकल्प एकताको प्रतिस्पर्धा गुटकोे

असार ६, काठमाडौं – मंगलबारदेखि सुरु भएको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा कांग्रेस शीर्ष नेताहरूले आन्तरिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे । तर, उद्घाटन कार्यक्रममै गुटगत विभाजन र नेताहरूबीचको मनमुटाव छताछुल्ल भयो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पटक–पटक बोलाउँदा पनि मञ्चमा गएनन् । नेताहरूले प्रदेशगत रूपमा जिल्ला सभापतिहरूलाई छुट्टाछुट्टै भेटेर छलफल गरिरहेका छन् ।

उद्घाटन कार्यक्रममा सभापति शेरबहादुुर देउवाले यसपटक मौखिक भाषण गरेनन् । बोल्दा बिग्रन सक्ने भएकाले १५ मिनेट लामो लिखित मन्तव्य पढे । बाल्यकालदेखि अहिलेसम्म आफ्नो जीवन राष्ट्र, लोकतान्त्र र कांग्रेसमा समर्पित भएको भन्दै उनले पूर्वाग्रह राखेर प्रस्तुत नहुन आग्रह गरे ।

नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइरालाले अब पनि पार्टीलाई एकढिक्का नबनाए झन् कमजोर बन्दै जाने बताए । भेलाबाट निस्किँदा पार्टी एकढिक्का भएको सन्देश व्यवहारले नै दिनुपर्ने जोड उनीहरूको थियो । मंगलबार उद्घाटन मात्रै भएको छ, बुधबारदेखि छलफल सुरु हुनेछ ।

उद्घाटन कार्यक्रममै असन्तुष्टि
उद्घाटन कार्यक्रममा सभापति देउवा, नेता रामचन्द्र पौडेल, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, महामन्त्री डा। शशांक कोइराला मात्रै बोले । पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई वक्तामा समेटिएन । यही कारणले सिटौला उद्घाटन समारोहको मन्चमा समेत गएनन्, तलै बसे ।

विरोध हुने डरले बोल्न दिइएन : सिटौला पक्ष

पार्टी नेतृत्वको आलोचना गर्ने डरले सिटौला र प्रकाशमानलाई बोल्न नदिइएको सिटौला पक्षको आरोप छ । ‘सभापतिको कार्यशैली, पार्टीभित्रको भद्रगोल अवस्थाका विषयमा खरो बोल्ने कोही भएनन्,’ एक केन्द्रीय सदस्यले भने, ‘सिटौला र प्रकाशमानलाई बोल्न दिँदा नेतृत्वको आलोचना हुन्छ । त्यसको असर जिल्ला सभापतिहरूमा पर्छ । उनीहरूले पनि विरोध गर्छन् भन्ने डरले बोल्न दिइएन ।’

केन्द्रीय कार्यालय आयोजक र मकवानपुर कांग्रेस व्यववस्थापक रहेको भेला लामो हुने, जिल्ला सभापतिका सुझाब, गुनासा सुन्नुपर्ने भएकाले थोरै वक्ता राखिएको संस्थापन पक्षको दाबी छ । साढे ११ बजेबाट उद्घाटन सत्र सुरु हुने भनिए पनि झन्डै दुई घन्टा ढिलो गरी कार्यक्रम सुरु भयो । साढे दुई घन्टा उद्घाटन कार्यक्रम चलेपछि मंगलबार नै जिल्ला सभापतिहरूले आफ्ना सुझाब दिने गरी बन्दसत्र सुरु गर्ने तयारी भए पनि हुन सकेन । बुधबार बिहानलाई छलफलको कार्यक्रम सारिएको छ । यसलाई पनि रामचन्द्र पौडेल र सिटौला पक्षले संस्थापनको नियोजित काम भनेको छ ।

‘धेरैभन्दा धेरै जिल्ला सभापतिहरूले बोल्न खोजिरहनुभएको छ । मंगलबार चार घन्टा मात्र छलफल गराएको भए झन्डै २० जिल्ला सभापतिले धारणा राख्थे,’ एक नेता भन्छन्, ‘तर, नेतृत्वले आलोचना हुने डरले सामूहिक छलफल गराएर टार्न खोजेको छ ।’ कार्यक्रम उद्घाटनस्थलमै भेटिएका संस्थापन पक्षकै ललितपुर जिल्लाका कांग्रेस सभापति मदन अमात्यले आफूहरू नबोली नछाड्ने बताए । ‘हाम्रै सुझाब सुन्न, गुनासो सुन्न र पार्टीलाई सुधार्दै रचनात्मक बनाउन भेला डाकिएको हा,’ अमात्यले भने, ‘तलसम्म संगठनको अवस्था बुझेका हामीले कुरा राख्न पाएनौँ भने भेला गरेको के अर्थ हुन्छ रु’

जो आक्रामक हुने तयारीमा छन्
जिल्ला सभापतिमध्ये नुवाकोटका जगदीश्वरनरसिंह केसी, धादिङका रमेश धमला, झापाका उद्धव थापा, डडेल्धुराका कर्ण मल्ल, रामेछापका लवश्री न्यौपाने, चितवनका जितनारायण श्रेष्ठसहितका जिल्ला सभापति आक्रामक रूपमा बन्दसत्रमा प्रस्तुत हुने तयारीमा छन् ।

संस्थापन पक्ष बचाउमा

पौडेल र सिटौला पक्ष नेतृत्वप्रति आक्रामक हुने तयारीमा रहँदै गर्दा संस्थापन पक्षका सभापतिहरू नेतृत्वको बचाउमा लाग्ने तयारीमा छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार