यस्तो छ ज्ञानेन्द्रको ग्राइण्ड डिजाइन!

देशमा राजवादीहरुले अस्वाभाविक सक्रियता बढाइरहेका छन् । पछिल्लो समय राजावादीहरुको अस्वाभाविक सक्रियता सँगै गणतन्त्रवादीहरु नराम्रो सँग झस्कीएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त सार्वजनिक रुपमानै बढि बकबक गरे नागार्जुन बाटनै निकालिदिने समेत चेतावनी दिएका छन् ।

विभिन्न समुहमा विभाजित भएर विभिन्न नाममा राजावादीहरुले आफ्नो गतिविधीलाई तिब्र बनाउँदै लगेका छन् । कोहि नेपालका लागी नेपाली अभियान त कोही स्वतन्त्र नागरीक अभियानका नाममा गैर राजनितिक चरित्रका आवरणमा राजावादीहरुले नागरिकलाई फकाउँन अभियान गरिरहेका छन् । राप्रपाका अध्यक्ष कमल थापाले नेतृत्व होइन व्यवस्थानै फेर्नु पर्ने भन्दै गणतन्त्र माथी धावा बोलीसेका छन् ।

खुलेर लाग्नेहरु त छँदै छन् , बाहिर नखुलेर पनि राजावादी मुभमेन्टलाई सहयोग पुग्ने गरि विभिन्न समुह र व्यक्तिहरुले विभिन्न गतिविधि गरिरहेका छन् । पछिल्लो समय सत्तारुढ पार्टीका जिम्मेवार नेता तथा सरकारका रक्षामन्त्री समेत रहेका इश्वर पोखरेलले गोप्य रुपमा पूर्वराजालाई भेटेका समाचारहरुले राजनितीम नयाँ तरंग गएको छ ।

यद्यपी इश्वर पोखरेलको सचिवालयले भने पूर्वराजालाई भेट्न नभएर पोखरेल नेपाल टस्टको सम्पत्ती अवलोकन गर्न त्यहाँ पुगेको भन्दै तस्बिर सार्वजनिक गरेर पूर्वराजालाई भेटेको कुरा इन्कार गरेको छ । तर पनि राजनितीमा जे देखिन्छ त्यो हुदैन र जे देखिँदैन त्यो हुन्छ भनेर भनिन्छ । पूर्वराजाको चलखेल सुरु भएको भने स्पष्ट देख्न सकिन्छ । पूर्वराजा ज्ञानेन्द्रले हालै सन्देश संग्रह नामक पूस्तक समेत प्रकाशित गरेका छन् ।

नेपालमा भित्रभित्रै तरंग दिएर पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जान लागेका छन् । लामै बसाइका लागी त्यस तर्फ जान लागेका शाहको थाइलाइण्ड बसाईलाई रहस्यमय रुपमा हेरिएको छ । नेपाल बाट विभिन्न देशमा जाँदा शंका हुने भएकाले त्यहाँ बसरे उनले विभिन्न देशमा भ्रमण गरि नेपालमा राजा फर्काउँन अन्तराष्टीय शक्तिहरुको गुहार माग्ने बुझिएको छ ।  पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका छन् ।

उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उहाँ थाइल्याण्ड जान लागेका हुन् ।

दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो । करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लाग्नुभएका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गरेका छन् । ।

उच्चस्रोतका अनुसार पछिल्लो समय ज्ञानेन्द्रको अधिकांस भ्रमण थाइल्याण्ड मात्र हुने गरेको छ । ‘नेपालबाट अन्य मुलुक जाँदा हल्ला हुने भएकाले नातिनीहरूको पढाइको अवस्थाबारे जानकारी लिन भन्दै थाइल्याण्ड जाने गर्नुभएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
पहिले पनि पटक पटक त्यहाँ जाने गरेका उनि यसपालि अपार्टमेन्टमा बस्नेगरी थाइल्याण्ड जान लाग्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि दशैँअघि थाइल्याण्ड जानुभएको थियो । नेपाल रहँदा पनि गत वर्ष पूर्व, तराई, पश्चिम, मध्यपश्चिम, सुदुरपश्चिम र मध्यमाञ्चलका विभिन्न जिल्ला भ्रमण गरी स्थानीय राजवादीहरूसँग भेट गरिसकेका छन् ।

लामो समयका लागी ज्ञानेन्द्र थाइलाइण्ड निस्कन लागे पछि त्यसको पराकम्पन नेपाली राजनितिमा रामै पर्ने देखिएको छ । केहि समय अघि मात्रै भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख नेपाल भ्रमण गरेर फर्किएका छन् । नेपाल भ्रमणमा रहँदा उनले पूर्वराजासँग पनि भेटघाट गरेको चर्चा चलेको थियो । पछि उनको सचिवालयले त्यस कुरालाई खण्डन गरेको थियो । राजावदीहरुको अस्वाभाविक सक्रियताको आड र विदेशी शक्तिकेन्द्रहरुको आशिर्वादमा पूर्वराजा ज्ञानेन्द्र राम्रै गाइन्ड डिजाइनका लागी थाइलाइण्ड जान लागेको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार