विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज, १ असार – सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको विद्युत प्राधिकरण राजविराजले जनाएको छ ।

पक्राउ परेका वडा अध्यक्षसहितको नाम जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले संयुक्तरुपमा तयार गरिएको मुचुल्कामा उल्लेख गरिएको छ ।

विद्युत्को पोलमा सिधैं हुकिङ गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

पक्राउ परेका उनीहरुको साथबाट दुई थान पानी तान्ने मोटर, दुई थान एलएडी टेलिभिजन एक थान पङ्खालगायतका सामान बरामद गरिएको प्रमुख साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार