डोल्पाको नगरपालिकाको टोलटोलमा प्रहरी अभियान शुरु

असार ७, त्रिपुराकोट – डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको टोलटोलमा प्रहरी अभियान शुरु गरिएको छ ।

नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा बिहिबार जनप्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज, व्यापारी, कर्मचारी सञ्चारकर्मीलगायत सरोकारवालाको उपस्थितिमा बजार परिक्रमा गर्दै सो अभियान शुरुआत गरिएको हो ।

“गाउँघर टोल सफा राखौँ, लागुपदार्थ सेवन नगरौँ, आपराधिक सूचना प्रहरीलाई दिउँ, नागरिक प्रहरी एक हौँ” जस्ता दर्जनौँ नाराबाजीसहित बगर बजार परिक्रम गरिएको थियो ।

नागरिकका गुनासा सम्बोधनका साथै स्वच्छ, सभ्य र शान्तिपूर्ण समाज निर्माणका लागि प्रहरी टोलटोलमा पुग्ने त्रिपुराकोट चौकीका प्रहरी नायब निरीक्षक रोमहर्स सिजवालले बताए ।

जनताका सेवामा लाग्न प्रहरी सधैँ तत्पर रहेकाले प्रहरीलाई टाढाको नसोचेर साथीका रुपमा सोच्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष काली चलाउनेले घरेलु मदिरा उत्पादन र बिक्री वितरण न्यूनीकरण गर्ने प्रहरीको अभियान स्वागतयोग्य भएको बताए ।

घरेलु मदिरा उत्पादन ग्रामीण क्षेत्रका अधिकांश महिलाको रोजीरोटीसँग जोडिनुका साथै घरेलु मदिरा बेचेरै बालबच्चाको पढाइ खर्च जुटाउनुपर्ने बाध्यता भएकाले एक्कासी बन्द गर्नुभन्दा पनि बिस्तारै न्यूनीकरण गर्दै लैजानुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार