पक्राउ पर्दै रवि लामिछाने !

पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा मुछिएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ पर्ने भएका छन् ।

पुडाशैनीको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गर्ने कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

पुडाशैनीले भिडियोमा आफ्नो मृत्युको कारण रवि लामिछाने भएको आरोप लगाएका छन् ।

पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन् ।

‘पुडाशैनीको भिडियोबारे प्रहरीले घटना भएदेखि नै अनुसन्धान गरिरहेको छ । आत्महत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए नाम लिएकामाथि पक्राउ गरेर अनुसन्धान हुन्छ,’ मल्लले भने ।

पुडाशैनीको परिवारबाट किटानी जाहेरी लिएर प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नेछ । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत लामिछानेलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने आवाज उठेको छ ।

भिडियोमा नाम लिइएका न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज र नर्स अस्मिता कार्कीमाथि अनुसन्धान कारवाही प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो आज सार्वजनिक भएको छ । पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको दाबी गरेका छन् ।

पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नाम समेत लिएका छन् । उनीहरूकै कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् । यो भिडियोसँगै पुडासैनी आत्महत्याले गम्भीर मोड लिएको छ । नुवाकोट स्थायी घर भएका पुडासैनीले साउन २१ गते चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए ।

न्यूज २४ टेलिभिजनका सिधा कुरा जनतासँग कार्यक्रमका लागि रिपोर्टिङ गर्दै आएका पुडासैनीले एक महिनाअघि माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार