सिङ्गापुरसँग पराजय सँगै नेपालको विश्वकप खेल्ने सपना अधुरो

सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी -२० एसिया छनोट अन्तर्गत आइतवारको अन्तिम खेलमा सिङ्गापुरले नेपाललाई ८३ रनले पराजित गरेको छ । पराजय सँग विश्वकप खेल्ने नेपालको सपना पनि अधुरो भएको छ । नेपालको पराजय पछि सिंगो नेपाल स्तब्ध बनेको छ ।

टस जितेर सिङ्गापुरले पहिलो ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १९१ रनको चुनौतीपुर्ण स्कोर बनायो। नेपालले १५ ओभरमा १०८ रन मात्रै बनाउन सक्यो।

जितसँगै सिङ्गापुर दुई महिनापछि संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।

नेपालले आक्रामक शुरूवात गरेपनि ब्याटिङ स्तरीय हुन नसक्दा पराजय भोगेको हो।कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो दुई ओभरमा २४ रन जोडेका थिए।तर ठूलो रनको दबावले नेपाली ब्याट्सम्यानहरूलाई टिक्न दिएन।

सिङ्गापुरको इन्डियन क्रिकेट एसोसियसनको मैदानमा टिम डेभिड र रोहन रङ्गराजनले राम्रो ब्याटिङ गरेपछि अघोषित फाइनल खेल प्रतियोगिताकै धेरै रन बनाइएको खेल बनेको थियो।टी-२० अन्तर्राष्ट्रियमा नेपालविरुद्ध कुनै पनि राष्ट्ले बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो।

गतवर्ष नेदरल्याण्डले नेपालविरुद्ध १७४ रन बनाएको थियो।डेभिडले सिङ्गापुरको लागि सर्वाधिक ७७ रन जोडे। ४३ बल खेलेका उनले आठ चौका र तीन छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि उनले रोहन रङ्गराजनसँग ८९ रनको साझेदारी गरेका थिए।ओपनर रङ्गराजनले ४९ रन जोड्नु सिङ्गापुरको लागि महत्तपूर्ण बन्यो।

मनप्रित सिंहले २७ बलमा ४२ रन बनाउदा सिङ्गापुरको स्कोर दुई सय नजिकै पुग्न सक्यो।नेपालका लागि अविनाश बोहोराले चार तथा करण केसीले दुई विकेट लिए।अनुभवी खेलाडी वसन्त रेग्मीले चार ओभरमा ५४ रन दिए जुन नेपालको तर्फबाट हालसम्मकै सबैभन्दा खराव बलिङ हो।

सन्दीप लामिछानेले तीन ओभरमा ३४ रन दिए। यी दुवै स्पीनर विकेटविहिन भए।यूएईमा हुने ग्लोबल क्वालिफायरमा १२ राष्ट्र छनौट भइसकेका छन्।

टी-२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा ११ देखि १६ स्थानमा रहेका स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड छन्। यद्यपी निलम्बनमा परेका कारण जिम्बाबेले प्रतियोगिता खेल्न नपाउन सक्छ।

आयोजकका रुपमा यूएई स्वतस् छनौटमा परेको छ।त्यसबाहेक पूर्वी एसिया प्यासाफिकबाट पपुवा न्युगिनी, अफ्रिकाबाट दुई टोली केन्या र नामिविया तथा युरोपबाट जर्सी छनोट भइसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार